काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सदस्यहरूले विभिन्न कार्यसूचीमाथि आफ्ना धारणा राखेका हुन्।बैठकमा ‘नेपाली कांग्रेस तयार छ’ अभियान, प्रतिपक्षको भूमिका, सरकारका गतिविधि तथा पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले जानकारी दिए।उनका अनुसार भोटेकोसी र बूढीगण्डकी क्षेत्रका बाढीपीडित तथा विस्थापित सुकुमबासीको अवस्थाबारे पनि बैठकमा कुरा उठेको छ। त्यसैगरी १५औँ महाधिवेशनबाट पारित नीति तथा दृष्टिकोण र समसामयिक मुद्दालाई जनतामाझ पुर्याउने विषयमा सदस्यहरूले धारणा राखेका छन्।
बैठकमा भ्रातृ संस्थालाई प्रभावकारी बनाउने, बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने र नागरिकले भोगिरहेका दैनिक समस्यालाई सम्बोधन गर्ने विषयले पनि स्थान पाएको छ। पार्टीलाई वडा र टोल तहसम्म सक्रिय बनाउँदै बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा सदस्यहरूले जोड दिएका छन्।यसैबीच, एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर अन्यत्र गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने प्रस्ताव आफूले राखेको तिमिल्सिनाले बताए।
विगतमा रुख चिह्नबाट निर्वाचित भएका स्थानीय, प्रदेश र सङ्घीय तहका जनप्रतिनिधि तथा पार्टी पदाधिकारीमध्ये मूल प्रवाहमा नरहेका र पार्टीका महाधिवेशन तथा नियमित गतिविधिमा सहभागी नभएकालाई सचेत गराउनुपर्ने उनको भनाइ छ। आवश्यक परे त्यस्ता व्यक्तिमाथि कारबाहीसमेत गर्नुपर्ने प्रस्ताव बैठकमा राखिएको उनले जानकारी दिए।