काठमाडौं । रुस–युक्रेन युद्ध जारी रहेका बेला उत्तर कोरियाले रुसलाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग अस्थायी रूपमा रोकेको विवरण सार्वजनिक भएको छ।
युक्रेनको सैन्य गुप्तचर निकायले सार्वजनिक गरेको जानकारीअनुसार प्योङयाङले मस्कोसँगको सैन्य सहकार्यमा केही समयका लागि रोक लगाएको हो।रिपोर्टअनुसार उत्तर कोरियाले रुसलाई पठाउँदै आएको केएन–२३ ब्यालिस्टिक क्षेप्यास्त्र, तोपखानाका गोलाबारुद तथा अन्य सैन्य सामग्रीको आपूर्ति रोकेको छ। साथै रुसका लागि हुने उत्तर कोरियाली सैन्य उडानसमेत स्थगित गरिएको दाबी गरिएको छ।
रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले दक्षिण कोरिया र उत्तर कोरियाबीचको तनाव कम गर्न मस्कोले सहयोग गर्न सक्ने अभिव्यक्ति दिएपछि दुई देशबीच असमझदारी बढेको बताइएको छ। उक्त अभिव्यक्तिप्रति उत्तर कोरियाकी विदेशमन्त्री चोई सोन–हुईले असन्तुष्टि जनाउँदै रुसलाई आफ्नो दक्षिण कोरिया नीतिबारे स्पष्ट हुन आग्रह गरेको युक्रेनी गुप्तचर निकायको दाबी छ।प्रतिवेदनमा उत्तर कोरियाली नेता किम जोङ उनले नै रुसलाई दिइने सैन्य सहयोग रोक्न निर्देशन दिएको उल्लेख छ। यद्यपि यसबारे उत्तर कोरिया र रुसले औपचारिक रूपमा पुष्टि गरेका छैनन्।
उत्तर कोरिया पछिल्लो समय रुसको युद्ध प्रयासमा महत्त्वपूर्ण सैन्य सहयोगीका रूपमा रहँदै आएको छ। उसले सन् २०२३ देखि रुसलाई हतियार आपूर्ति गर्दै आएको र त्यसको एक वर्षपछि सैनिकसमेत पठाएको बताइन्छ।युक्रेनी गुप्तचर निकायका अनुसार उत्तर कोरियाले रुसको कुर्सक क्षेत्रमा हजारौँ सैनिक परिचालन गरेको छ। रुसले थप सैनिक सहयोग मागेको भए पनि प्योङयाङले त्यसलाई तत्काल अघि बढाउन नचाहेको प्रतिवेदनमा उल्लेख छ।
उत्तर कोरियाको सैन्य सहयोग रोकिएमा रुसलाई युद्ध सञ्चालनका लागि आवश्यक क्षेप्यास्त्र र गोलाबारुद आपूर्तिमा दबाब पर्न सक्ने विश्लेषण गरिएको छ।यद्यपि सैन्य सहकार्यमा देखिएको भनिएको यो अवरोधले दुई देशबीचको रणनीतिक सम्बन्ध नै समाप्त भएको पुष्टि गर्दैन। सन् २०२४ मा दुवै देशले पारस्परिक रक्षा सहयोगसहितको रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका थिए।