काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई सम्पर्क गर्ने पटक–पटक प्रयास गरे पनि कुनै प्रतिक्रिया नपाएको खुलासा भएको छ। सन् २०२५ मा ट्रम्पले फोनमार्फत सम्पर्क गर्न खोज्दा किमले जवाफ नदिएको र त्यसपछि पठाइएको पत्रसमेत उत्तर कोरियाली पक्षले नखोली फिर्ता गरेको बताइएको छ।
द वाल स्ट्रिट जर्नलले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार ट्रम्प प्रशासनले म्यानहट्टनस्थित संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली मिसनमार्फत किमलाई पत्र पठाउने व्यवस्था मिलाएको थियो। तर, उत्तर कोरियाली कूटनीतिज्ञले राष्ट्रसंघको एक बैठकका क्रममा अमेरिकी प्रतिनिधिकै अगाडि उक्त पत्र नखोली फिर्ता गरेका थिए। यद्यपि, अमेरिकी प्रशासनका एक अधिकारीले भने दुई देशबीच भेटवार्ताको मध्यस्थता गर्न कुनै प्रयास नभएको दाबी गरेका छन्। ह्वाइट हाउसले भने उत्तर कोरियाको आणविक निःशस्त्रीकरणप्रतिको आफ्नो प्रतिबद्धता कायमै रहेको जनाएको छ।
सम्भावित शिखर वार्ताको प्रयास
ट्रम्पको पछिल्लो एसिया भ्रमणका क्रममा पनि अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय भेटवार्ताको सम्भावनाबारे छलफल भएको थियो। तर, किमले राखेका सर्तहरू अमेरिकाका लागि स्वीकार्य नभएपछि वार्ताको वातावरण बन्न नसकेको रिपोर्टमा उल्लेख छ। अमेरिकी अधिकारीहरूले कूटनीतिक सहकार्यका बदलामा उत्तर कोरियाका आणविक तथा क्षेप्यास्त्र परीक्षणमा सीमा तोक्ने विकल्पबारे समेत विचार गरेका थिए। प्रस्तावित कूटनीतिक पहलमा कोरियाली युद्ध औपचारिक रूपमा अन्त्य गर्ने विषय पनि समेटिएको थियो।
उत्तर कोरियाको आणविक क्षमता विस्तार हुँदै
यसैबीच, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को सन् २०२६ को मूल्याङ्कनअनुसार उत्तर कोरियाले करिब ६० वटा आणविक वारहेड निर्माण गरिसकेको अनुमान छ। थप कम्तीमा ३० वटा वारहेड बनाउन पुग्ने विखण्डनशील पदार्थसमेत उत्तर कोरियासँग रहेको संस्थाको आकलन छ। सिप्रीका अनुसार प्योङयाङले आणविक सामग्री उत्पादन बढाउनुका साथै नयाँ क्षेप्यास्त्र प्रणालीको विकास र परीक्षणलाई पनि निरन्तरता दिइरहेको छ। सन् २०२५ मा ठोस इन्धनबाट सञ्चालन हुने ह्वासोङ–२० अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रसहित विभिन्न प्रणाली सार्वजनिक तथा परीक्षण गरिएको थियो।
अमेरिकी गुप्तचर निकायको सन् २०२५ को प्रतिवेदनले पनि किम आफ्नो रणनीतिक हतियार कार्यक्रम त्याग्ने पक्षमा नरहेको मूल्याङ्कन गरेको थियो। ती हतियारलाई उनले आफ्नो शासनको सुरक्षा र राष्ट्रिय गौरवसँग जोडेर हेर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२६ को मूल्याङ्कनले पनि उत्तर कोरिया आणविक हतियार र क्षेप्यास्त्र क्षमता विस्तार गर्ने दिशामा अघि बढिरहेको जनाएको छ। रुससँगको हतियार व्यापार, बढ्दो कारोबार तथा क्रिप्टोकरेन्सी चोरीजस्ता साइबर गतिविधिबाट उत्तर कोरियाले विदेशी मुद्रा आम्दानी बढाइरहेको पनि प्रतिवेदनमा उल्लेख छ।