काठमाडौं, । देशभर पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहँदा आज शनिबार विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य भूभागमा भने आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश भूभागसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तराईका केही क्षेत्रमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसममा बदली र वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।