काठमाडौँ । पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बनेका छन्।
चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै अन्तरिक्ष यात्रा गरेका छन्। चिनियाँ समकक्षीहरूसँग महिनौँसम्मको कठिन प्रशिक्षण पूरा गरेपछि अली ऐतिहासिक अन्तरिक्ष यात्राका लागि तयार भएका छन्। उनले आफू व्यक्तिगत रूपमा मात्र नभई पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा जान लागेको बताएका छन्। ‘म आफ्ना लागि मात्र अन्तरिक्षमा उडिरहेको छैन। मेरो काँधमा पाकिस्तानको नाम र पहिचान छ,’ अलीले भनेका छन्। सन् २०२६ मा चीन र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ। यही अवसरमा चिनियाँ अन्तरिक्ष यात्रीहरूसँग मिलेर अन्तरिक्षमा पुग्नुले दुई देशबीचको मित्रता कागजमा मात्र नभई अन्तरिक्षमा समेत वास्तविक रहेको देखाउने अलीको भनाइ छ।
चीन र पाकिस्तानले सन् २०२५ फेब्रुअरीमा चिनियाँ अन्तरिक्ष केन्द्रमा हुने मिसनका लागि पाकिस्तानी अन्तरिक्ष यात्री छनोट तथा प्रशिक्षण गर्ने सम्झौता गरेका थिए। त्यसपछि यसै वर्ष अप्रिलमा अली र अर्का एक पाकिस्तानी अन्तरिक्ष यात्री प्रशिक्षणका लागि चीन पुगेका थिए। चीनमा उनीहरूले आधारभूत अन्तरिक्ष प्रशिक्षण, एयरोस्पेस प्रविधिसम्बन्धी तालिम तथा चिनियाँ भाषाको विशेष प्रशिक्षण लिएका थिए। मिसनका क्रममा प्रयोग हुने निर्देशन र प्राविधिक शब्दावलीसमेत सिकाइएको थियो। अलीका अनुसार चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै नियमित उडान प्रक्रिया र आपत्कालीन अवस्थाका अभ्यास पटकपटक गरिएको थियो। निरन्तरको अभ्यासले ती प्रक्रिया स्वाभाविक प्रतिक्रियाजस्तै बनेको उनले बताएका छन्। अन्तरिक्षमा पुगेपछि अलीले टोलीका अन्य सदस्यसँगै नियमित कार्य गर्नुका साथै चीन–पाकिस्तान संयुक्त अन्तरिक्ष विज्ञानसम्बन्धी प्रयोगमा ध्यान केन्द्रित गर्नेछन्।
केही समय अन्तरिक्षमा बिताएपछि उनी ‘शेन्झाउ–२३’ अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्किने कार्यक्रम रहेको छ। अन्तरिक्षबाट आफ्नो देश पाकिस्तान र जन्मथलो हेर्न पाउनु आफ्ना लागि ठूलो सम्मान हुने अलीले बताएका छन्। अन्तरिक्ष अन्वेषण मानवजातिको हित, शान्तिपूर्ण उपयोग र पृथ्वीमा सर्वसाधारणको जीवनस्तर सुधारका लागि हुनुपर्ने उनको धारणा छ। चीनको अन्तरिक्ष केन्द्रमा पाकिस्तानी अन्तरिक्ष यात्रीको सहभागितालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले आफ्नो अन्तरिक्ष कार्यक्रमका उपलब्धि अन्तर्राष्ट्रिय समुदायसँग साझा गर्ने चीनको प्रयासलाई समेत प्रतिबिम्बित गरेको छ।