काठमाडौँ । बैतडी जिल्ला अदालतको सुरक्षामा खटिएका एक प्रहरी जवान अदालत परिसरभित्रै मृत अवस्थामा भेटिएका छन् ।
दार्चुला घर भएका प्रहरी जवान भूपेन्द्रराम पार्की बुधबार साँझ अदालत परिसरमा रहेको सरकारी निवासको आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक रायका अनुसार पार्की अदालत परिसरस्थित प्रहरी ब्यारेकमा कार्यरत थिए । उनलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि सहकर्मीहरूले शंका गरेका थिए । त्यसपछि कोठाको ढोका फुटाएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार पार्कीको मृत्युको कारण खुल्न बाँकी छ । उनको शव आफन्तलाई बुझाइसकिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।