काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा विचाराधीन विद्युतीय कारोबारसम्बन्धी मुद्दामा नयाँ आदेश जारी भएको छ ।
अदालतले पीडित पक्षले पेस गरेका प्रमाणबारे सुनारलाई जानकारी गराई त्यससम्बन्धी कागजात पेस गर्न आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार यस्तो आदेश दिएको हो । साथै, मुद्दालाई नियमानुसार अघि बढाउन पनि अदालतले निर्देशन दिएको छ । अदालतको अवहेलना गरेको र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका सुनार ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध पीडित मनिषा गौतमले विभिन्न कागजातसहित तीन घण्टा लामो अडियो रेकर्ड भएको पेनड्राइभ अदालतमा प्रमाणका रूपमा बुझाएकी थिइन् ।
तर, गत असोज दोस्रो साता अदालतका कर्मचारीले उक्त पेनड्राइभमा तीन मिनेटको मात्रै अडियो रहेको जानकारी दिएपछि गौतमले प्रमाण गायब पारिएको हुन सक्ने आशंका व्यक्त गरेकी थिइन् । अधिवक्तासमेत रहेकी उनले यस विषयमा पुनः निवेदन दिँदै अडियो प्रमाण अदालतमा पेस गरेकी थिइन् । यसै विषयलाई लिएर न्यायाधीश मैनालीको इजलासले अहिले पेस भएका प्रमाणबारे सुनारलाई जानकारी गराई आवश्यक कागजात अदालतमा बुझाउन आदेश दिएको हो ।
