काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचअन्तर्गत आइतबार राति भगवान् विष्णुको नृसिंह अवतारसम्बन्धी कथा प्रस्तुत गरिएको छ।
कार्तिक डबलीमा मञ्चन गरिएको नाचमा भगवान् विष्णुले नृसिंह अवतार धारण गरी राक्षस राजा हिरण्यकश्यपुको वध गरेको प्रसङ्गलाई जीवन्त रूपमा देखाइएको थियो। विसं १६९७ देखि सुरु भएको कार्तिक नाचमा भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथामा आधारित नृत्य तथा लीलाहरू प्रस्तुत गरिँदै आएको छ। यस नाचमा हरेक दिन फरक–फरक धार्मिक कथालाई नृत्य र अभिनयमार्फत प्रदर्शन गरिन्छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले ललितपुरका बासिन्दालाई भय र त्रासबाट मुक्त गराउने उद्देश्यले यो नाच सुरु गराएको जनविश्वास छ। ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचले पाटनको मौलिक कला, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै आएको छ।