काठमाडौं ।नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौँको खुलामञ्चमा गर्ने निर्णय गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशन स्थल खुलामञ्च तय गरिएको जानकारी दिएका हुन् ।पोखरेलका अनुसार खुलामञ्चमै निर्वाचनका लागि छुट्टाछुट्टै स्टल निर्माण गरी मतदानलगायतका प्रक्रिया सञ्चालन गरिनेछ । महाधिवेशनको निर्वाचन कार्यक्रम पनि सोही स्थानबाट सम्पन्न गर्ने तयारी गरिएको उनले बताए ।
उनले हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । बाँकी जिल्लाका साथै प्रदेश अधिवेशनको मिति पनि निर्धारण भइसकेको उनको भनाइ छ ।देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनका अन्य तयारीबारे पनि आयोजक समितिको बैठकमा छलफल भइरहेको छ ।