काठमाडौं । लैङ्गिकतामा आधारित हिंसाविरुद्ध सञ्चालन भइरहेको १६ दिने अभियानअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ ।
युथ एड्भोकेसी नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसा, विभेद र छुवाछूतका सबै स्वरूप अन्त्य गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा हिंसाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनचेतनामूलक नाटकसमेत देखाइएको थियो । प्रदर्शनकारीहरूले राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, महिलालाई रोजगारी तथा स्वरोजगारका अवसरमा समान पहुँच उपलब्ध गराउन र बालबालिकाले समावेशी तथा गुणस्तरीय शिक्षा पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
त्यसैगरी, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट महिलामाथि हुने दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति र साइबर दुर्व्यवहार नियन्त्रण गर्नुपर्ने आवाज पनि उठाइएको छ । महिलामाथि हुने हिंसा र असमानताको अन्त्य गर्दै न्यायपूर्ण, समान र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकायलाई दबाब दिन प्रदर्शन आयोजना गरिएको आयोजकले जनाएको छ ।