काठमाडौं ।मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले पदभार सम्हालेको केही दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
जनता समाजवादी पार्टी जसपा नेपालको नेतृत्वमा सरकार गठन भए पनि अन्य राजनीतिक दलबाट समर्थन नपाउँदा सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ ।मुख्यमन्त्री यादवले मंसिर ६ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले तत्काल समर्थन जनाएका छैनन् । जनमत पार्टीले पनि सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय सार्वजनिक गरेको छैन ।
जसपा नेपालका महासचिव डा : सुरेन्द्र झाले भने सरकार संकटमा नरहेको दाबी गरेका छन् । विभिन्न दलसँग संवाद भइरहेको र एक–दुई दिनभित्र सरकारलाई समर्थन गर्ने विषयमा टुंगो लाग्ने उनको भनाइ छ । संवैधानिक जटिलता आउन नदिन पार्टीले सरकारको नेतृत्व गर्नुपरेको उनले बताएका छन् ।यसैबीच, कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकार गठन प्रक्रियाबारे कानुनी तथा राजनीतिक परामर्श थालेका छन् । प्रदेश प्रमुखले छलफलका लागि समय नदिएको भन्दै तीन दलले असन्तुष्टि जनाएका छन् । सरकार गठन प्रक्रियाविरुद्ध कानुनी उपचार खोज्ने विषयमा समेत उनीहरूबीच छलफल भइरहेको बताइएको छ ।
बहुमत जुटाउन थप २५ सांसदको समर्थन आवश्यक
१०३ सदस्यीय मधेस प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन चाहिन्छ । जसपा नेपालसँग २८ सांसद मात्रै रहेकाले बहुमत पुर्याउन थप २५ सांसदको समर्थन आवश्यक छ ।प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् । मुख्यमन्त्री यादवले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।सरकारलाई समर्थन गर्ने विषयमा दलहरूबीच छलफल जारी रहे पनि अहिलेसम्म कुनै औपचारिक सहमति जुट्न सकेको छैन । यही अन्योलका कारण मधेस प्रदेशको नयाँ सरकारको राजनीतिक भविष्यबारे अनिश्चितता बढेको छ ।