काठमाडौँ । धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–७ गल्छी बजारमा भएको दुर्घटनामा डडेलधुराका २८ वर्षीय बरुण प्रसाद भट्टको ज्यान गएको हो। प्रहरीका अनुसार मंसिर ८ गते बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि बैरेनी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।