काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अब अनिवार्य रूपमा भौतिक परिचयपत्र नै बोक्नुपर्ने व्यवस्था हटेको छ ।
स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रमा भएका विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा दिन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । बुधबार जारी गरिएको पत्रमार्फत बोर्डले भौतिक कार्ड साथमा नभएको कारण देखाएर बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरेको हो । नयाँ व्यवस्थाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको सक्कली प्रति, डिजिटल कार्ड वा त्यसमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक देखाएर सेवा लिन सक्नेछन् ।
यस्तो अवस्थामा सम्बन्धित स्वास्थ्य संस्थाले बिरामीको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी उनी बीमामा आबद्ध भए–नभएको पुष्टि गर्नुपर्नेछ । त्यसपछि बीमाअन्तर्गत उपलब्ध हुने उपचार सेवा प्रदान गर्नुपर्ने बोर्डले जनाएको छ । यसअघि स्वास्थ्य बीमाको सेवा लिन अस्पताल पुग्दा भौतिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था थियो । बोर्डका प्रवक्ता पवनकुमार शाहले नयाँ व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले भौतिक कार्ड साथमा नभएका सेवाग्राहीलाई उपचार लिन सहज हुने बताएका छन् ।