काठमाडाैँ । कास्कीको पोखरामा शुक्रबार बिहान भएको विद्यालय बस दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक स्थानीय बासिन्दाले समेत ज्यान गुमाएका छन्। पोखरा महानगरपालिका–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो। ग २ ख १४१७ नम्बरको उक्त बस शुक्रबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानका अनुसार दुर्घटनाका बेला बसमा १९ जना विद्यार्थी र चालक सवार थिए। बाटोमा लिफ्ट मागेर बसमा चढेका एक स्थानीय पनि दुर्घटनामा परेका थिए।
मृत्यु हुने स्थानीय पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेको प्रहरीले जनाएको छ। उपचारका लागि जाँदै गरेका तिवारीले बाटोमा बसमा लिफ्ट लिएका थिए। दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीमध्ये ममता तिवारी र अशिम कँडेलको पहिचान खुलेको छ। ममता १२/१३ वर्षकी र अशिम १३/१४ वर्षका रहेको बताइएको छ। मृत्यु हुने अन्य दुई छात्राको भने नाम र पहिचान खुल्न सकेको छैन। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको डीएसपी पासवानले जानकारी दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।