काठमाडाैँ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारमा परेर भण्डारीलाई करेन्ट लागेको थियो। मंगलबार दिउँसो खेतमा पानी लगाउन भन्दै घरबाट निस्किएका भण्डारी साँझसम्म पनि घर नफर्किएपछि आफन्त तथा छिमेकीले खोजी सुरु गरेका थिए।
खोजीका क्रममा बुधबार बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परेको अवस्थामा भण्डारीलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।