काठमाडौं ।सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।नक्सा पास गरिदिने कामका लागि सेवाग्राहीसँग रकम मागिएको सूचना पाएपछि अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा यादवले सेवाग्राहीबाट एक लाख रुपैयाँ लिँदै गरेको अवस्थामा टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।
यादवसँगै अर्का एक व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। तर ती व्यक्तिको परिचय तथा घटनामा उनको भूमिकाबारे अख्तियारले तत्काल विस्तृत जानकारी सार्वजनिक गरेको छैन।घटनापछि अख्तियारको टोलीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।