काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। कांग्रेस सभापति गगन थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्।
सभापति थापाले रिजाललाई उपसभापति पदमा उम्मेदवारी नदिन आग्रह गरेका थिए। भेटका क्रममा महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासनसमेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएको बताइएको छ। रिजालले सभापति थापासँग भएको भेट तथा उम्मेदवारी फिर्ताको विषयमा भएको कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।
रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार सभापति थापाले सार्वजनिक रूपमा र व्यक्तिगत भेटका क्रममा समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। महाधिवेशनपछि रिजाललाई उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता थापाले व्यक्त गरेको ठकुरीले जानकारी दिए।