काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) नजिकिएसँगै नेपालले आफ्नो तयारी तीव्र पारेको छ।
आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्किएको अन्ताल्यास्थित अन्ताल्या एक्स्पो सेन्टरमा हुने सम्मेलनमा नेपालले जलवायु परिवर्तनका असर, जलवायु न्याय र हिमाली राष्ट्रका सरोकारलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको हो। कोप–३१ को एजेन्डा तथा मुख्य विषयवस्तुमा छलफल गर्न फिजी र टुभालुमा प्रि–कोप बैठक भइरहेको छ। उक्त बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ। मन्त्री खनालले नेताहरूको पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रि–कोप लिडर्स इभेन्टमार्फत जलवायु परिवर्तनका प्रभाव, विश्वव्यापी जलवायु सहकार्य र जलवायु न्यायका विषयमा छलफल भइरहेको छ। नेपालले यस अवसरलाई हिमाली मुलुकले भोगिरहेका जलवायुजन्य समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा राख्ने माध्यमका रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ। कोप–३१ मा कार्बन उत्सर्जन न्यूनीकरणका लक्ष्य तथा पेरिस सम्झौताअन्तर्गत राष्ट्रिय निर्धारित योगदान (एनडीसी) को कार्यान्वयन अवस्थाबारे पनि समीक्षा हुनेछ। त्यस्तै, विकासशील मुलुकका लागि तय गरिएको नयाँ सामूहिक जलवायु वित्तीय लक्ष्य कार्यान्वयनको विषय पनि सम्मेलनको महत्वपूर्ण एजेन्डा बन्नेछ।
जलवायुजन्य जोखिमको सामना गरिरहेका देश तथा समुदायको उत्थानशीलता बढाउने विषयलाई समेत सम्मेलनमा प्राथमिकतामा राखिएको छ। नेपालले आफ्ना प्राथमिकता, धारणा र जलवायुजन्य समस्यालाई समेटेर ‘कन्ट्री पोजिसन पेपर’ तयार गरिरहेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले कोप–३१ मा नेपालको तर्फबाट उठाइने विषयहरूलाई अन्तिम रूप दिने तयारी गरिरहेको जनाएको छ। यसैबीच, कार्बन व्यापारका विषयमा कोरियाली सरकारसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी पनि अघि बढाइएको छ। कोप–३१ सुरु हुनुअघि नै समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको योजना छ।
सम्मेलनमा नेपालको नेतृत्व कसले गर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन। कोप–३१ का लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई निमन्त्रणा आए पनि उनी सहभागी हुने वा नहुने निश्चित भइसकेको छैन। प्रधानमन्त्री सहभागी नहुने अवस्थामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने निर्णय हुन बाँकी छ। परराष्ट्रमन्त्री शिशिर खनाल भने प्रि–कोप बैठकमा सहभागी हुन फिजी पुगिसकेका छन्। प्रि–कोपमा सहभागिता जनाइसकेकाले उनी कोप–३१ मा पनि सहभागी हुने सम्भावना बलियो रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्। सम्मेलनका लागि नेपालको प्रतिनिधिमण्डललाई छोटो र छरितो बनाउने तयारी गरिएको छ।