काठमाडौं ।कैलालीको धनगढीमा चट्याङ लागेर ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा उनीहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार स्थानीय खुशीलाल चौधरीको घरको छतमा राति करिब साढे ९ बजे जन्मदिन मनाउने क्रममा घरनजिकै चट्याङ परेको थियो। त्यस क्रममा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका छन्। घाइते सबैलाई तत्कालै सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको अहिले अस्पतालमै उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ।