काठमाडौं ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा एक २० वर्षीया विवाहित महिला मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय विनोद दासकी पत्नी प्रियंका दासको शव आइतबार साँझ आफ्नै घरको सुत्ने कोठामा फेला परेको प्रहरीले जनाएको छ।परिवारका सदस्यका अनुसार प्रियंकालाई कोठाको सिलिङ पंखामा सलको पासो लगाएको अवस्थामा देखिएको थियो। त्यसपछि उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेको बताइएको छ।घटनाको सूचना पाएपछि कपिलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनापछि स्थानीयवासी घरबाहिर भेला भएर विरोध जनाएका थिए। उनीहरूले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
स्थानीयले घटनास्थलको अवस्था सञ्चारकर्मीले समेत अवलोकन गर्न पाउनुपर्ने माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। केही स्थानीयले महिलाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाउने काम गरिरहेको छ।घटनाबारे प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण भने थप अनुसन्धान तथा आवश्यक परीक्षणपछि खुल्ने प्रहरीले बताएको छ।