काठमाडौँ । बाजुरामा विद्युत्को पोलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केसी बुधबार घरबाट बाहिरिएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवार तथा आफन्तले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वन क्षेत्रमा रहेको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयले बुधबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएका थिए। सूचना पाएलगत्तै अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो। घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।