काठमाडौं । सोमबार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा वर्षा तथा हिमपातसमेत हुनसक्ने देखिएको छ। हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ। अन्य क्षेत्रमा पनि दुवै प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ।
देशका हिमाली तथा पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि अन्य तराई भूभागमा मौसम तुलनात्मक रूपमा सफा रहने अनुमान गरिएको छ। कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो तथा राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा छिटपुट रूपमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। यी प्रदेशका केही पहाडी भूभागमा भने मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम बदलीसँगै वर्षा र हिमपात हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रमा यात्रा तथा दैनिक गतिविधि गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।