काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा चितवनमा पनि नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसै क्रममा चितवन क्षेत्र नम्बर १ बाट युवा नेता प्रकाश उप्रेतीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
चितवनको खैरहनी नगरपालिका–१२ मा जन्मिएका उप्रेतीले नेपाल विद्यार्थी संघको आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। विद्यार्थी आन्दोलनसँगै विभिन्न संगठनात्मक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै उनले राजनीतिक र संगठनात्मक अनुभव हासिल गरेको बताएका छन्। लोकतान्त्रिक आन्दोलनका मूल्य, मान्यता र आदर्शलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका उप्रेती मानव अधिकार, महिला अधिकार, सामाजिक न्याय, समानता तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा आफूले निरन्तर आवाज उठाउँदै आएको बताउँछन्।
उप्रेतीको राजनीतिक विचारमा जननायक बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद, समानता र सामाजिक न्यायको अवधारणालाई महत्वपूर्ण स्थान रहेको छ। लोकतन्त्रलाई केवल शासन सञ्चालनको प्रणालीका रूपमा नभई नागरिकको स्वतन्त्रता, अधिकार, सम्मान र समानतासँग जोडिएको जीवनपद्धतिका रूपमा बुझ्नुपर्ने उनको धारणा छ। राजनीति पद प्राप्त गर्ने माध्यम मात्रै नभई समाज परिवर्तन, नागरिक अधिकारको संरक्षण र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने माध्यम हुनुपर्ने उप्रेती बताउँछन्। त्यसैले पार्टीभित्र युवा पुस्ताको अर्थपूर्ण सहभागिता, वैचारिक बहस र नेतृत्व हस्तान्तरणलाई उनले आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।
आजको पुस्ताले राजनीतिमा सहभागी हुने मात्र नभई प्रश्न गर्ने, विचार निर्माण गर्ने र नेतृत्व गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ। कांग्रेसको लोकतान्त्रिक परम्परालाई नयाँ पुस्ताको ऊर्जा, विचार र आवश्यकतासँग जोड्दै पार्टीलाई समयअनुकूल गतिशील बनाउन आफूले भूमिका खेल्ने उप्रेतीले प्रतिबद्धता जनाएका छन्। चितवन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका उप्रेतीले आफूले हासिल गरेको संगठनात्मक तथा सामाजिक अनुभवलाई पार्टीको केन्द्रीय तहको जिम्मेवारीसँग जोड्ने उद्देश्य राखेका छन्। युवा पुस्ताको आवाजलाई कांग्रेसको केन्द्रीय नेतृत्वसम्म पुर्याउने र पार्टीको लोकतान्त्रिक आधारलाई थप मजबुत बनाउने लक्ष्यसहित उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।