काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीति र त्यहाँ भएका राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
जनमत पार्टीको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै घिसिङले मधेसमा अधिकार प्राप्तिका लागि लामो समयदेखि विभिन्न आन्दोलन तथा संघर्ष भए पनि त्यसबाट प्राप्त उपलब्धि व्यवहारमा कति कार्यान्वयन भयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताए। उनले विगतका निर्वाचनको परिणाम र त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको समेत समीक्षा गर्दै आगामी दिनमा मधेसका लागि के गर्न सकिन्छ भन्ने विषयमा नयाँ ढंगले सोच्नुपर्ने धारणा राखे।
देशलाई आर्थिक सुशासनतर्फ अघि बढाउनुपर्नेमा जोड दिँदै घिसिङले मधेसबाट राष्ट्रपति भइसकेको र अहिले प्रधानमन्त्रीसमेत मधेसबाटै रहेको अवस्थामा पनि आम मधेसी नागरिकको जीवनमा आधारभूत परिवर्तन आएको छ कि छैन भन्ने प्रश्नको समीक्षा हुनुपर्ने बताए। मधेसका नागरिकले आफ्नै क्षेत्रबाट प्रधानमन्त्री पाए पनि अपेक्षाअनुसार काम हुन नसक्दा असन्तुष्टि बढिरहेको उनको भनाइ थियो। आफू नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा मधेसका धेरै क्षेत्रमा पर्याप्त विद्युत् पहुँच नरहेको स्मरण गर्दै उनले विद्युत् विस्तारपछि घरघरमा बत्ती पुगेको बताए।
मधेस प्रदेशलाई मुलुककै महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्ने घिसिङले बताए। कृषि उत्पादनका दृष्टिले मधेस उर्वर भूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा समस्या रहेको उल्लेख गर्दै उनले कृषियोग्य जमिनमा विद्युत् सुविधा पुर्याउनुपर्ने र कृषि प्रयोजनका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने धारणा राखे। विद्युत्को प्रभावकारी उपयोगमार्फत मुलुकको आर्थिक रूपान्तरण सम्भव रहेको उल्लेख गर्दै उनले सरकारले यस क्षेत्रमा तत्काल ठोस कदम चाल्नुपर्ने बताए। वर्तमान सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै घिसिङले सरकारलाई आफ्ना प्रतिबद्धता कार्यान्वयनमा गम्भीर हुन आग्रहसमेत गरे।