काठमाडौं ।रुपन्देहीको भैरहवामा साढे दुई किलोभन्दा बढी सुनका गरगहनासहित एक महिला पक्राउ परेकी छन्।
सशस्त्र प्रहरीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट सीमा जाँचकक्षबाट २ किलो ६ सय ५ ग्राम सुनका विभिन्न गरगहना बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई जाँच गर्ने क्रममा गहना फेला परेको हो।बरामद सुनको अनुमानित बजार मूल्य करिब २ करोड ५१ लाख ९३ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्रीमा हार, औँठी, चुरा, सिक्री, झुम्का, बाला, लकेट र ब्रासलेटलगायत विभिन्न प्रकारका सुनका गहना छन्।पक्राउ परेकी पटेल र बरामद गरिएका गहनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सुनको परीक्षण तथा वास्तविक धातुको परिमाण निर्धारण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।