काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो। वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षमा सक्रिय रहँदा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।
बस्नेतले आफ्नो राजनीतिक जीवनमा विभिन्न कठिन परिस्थिति र चुनौतीको सामना गर्दै नेपाली कम्युनिस्ट आन्दोलन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा योगदान दिएका थिए। उनी सादा जीवनशैली र राजनीतिक निष्ठाका लागि परिचित थिए। पूर्वसांसदसमेत रहेका बस्नेत तत्कालीन नेकपा (एमाले) हुँदै पछिल्लो समय वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएका थिए। उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सहकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। बस्नेतको निधनले लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय एक अनुभवी राजनीतिक व्यक्तित्व गुमाएको उनीहरूसँग सम्बन्धित व्यक्तिहरूले बताएका छन्।