काठमाडौँ । बेलायतको ग्लुस्टरशायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको सैन्य अड्डा नजिक पक्राउ परेका पाँच जनामध्ये एक जनाले नै प्रहरीलाई आपत्कालीन नम्बरमा फोन गरेको खुलेको छ।
बीबीसीका अनुसार आइतबार बिहान पक्राउ पर्नुभन्दा करिब एक घण्टा अघि तीमध्ये एक जनाले राति १२ः४५ बजे प्रहरीलाई फोन गरेका थिए। त्यसपछि सैन्य अड्डाको पूर्वतर्फ रहेको वेलफोर्ड गाउँकी एक महिला किसानले मुखावरण लगाएका केही व्यक्तिसहित तीनवटा शंकास्पद भ्यान देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। घटनापछि सैन्य अड्डा आसपास ठूलो सुरक्षा सतर्कता अपनाइएको थियो। पाँच जनालाई सुरुमा विस्फोटक पदार्थसम्बन्धी अपराधको शंकामा पक्राउ गरिएको थियो भने पछि उनीहरूमाथि आतंकवादसम्बन्धी अपराधको आशंकामा पनि अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले ती पाँचै जनालाई सोमबार जमानतमा रिहा गरेको छ। उनीहरूको रिहाइ अनुसन्धानसम्बन्धी निर्णय भएको र उक्त निर्णय अनुभव तथा अनुसन्धान रणनीतिमा आधारित रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शंकास्पद भ्यानको खानतलासीका क्रममा केही मात्रामा पेट्रोल फेला परेको थियो। यद्यपि कुनै पनि विस्फोटक उपकरण भने भेटिएको छैन। प्रहरीलाई सूचना दिने महिला किसानले घर फर्कने क्रममा बाटो अवरुद्ध भएको र ठूलो संख्यामा हुड तथा मुखावरण लगाएका मानिसहरू देखेको बताएकी छन्। उनले आफूले प्रहरीलाई गरेको फोनले उनीहरूको सम्भावित योजना विफल पार्न सहयोग गरेको विश्वास व्यक्त गरेकी छन्।
घटनास्थलमा बम निष्क्रिय पार्ने टोलीसमेत परिचालन गरिएको थियो। सुरक्षाका लागि घटनास्थल वरपर ४०० मिटर क्षेत्रलाई घेराबन्दी गरिएको थियो। तर आतंकवादविरोधी प्रहरी प्रमुख सहायक आयुक्त लरेन्स टेलरले प्रहरीको कारबाही केवल महिला किसानले गरेको फोनका आधारमा नभएको बताएका छन्। उनका अनुसार घटनाको बिहान प्रहरी परिचालन गर्न विभिन्न स्रोतबाट प्राप्त सूचना र अन्य परिस्थितिलाई आधार बनाइएको थियो। सुरक्षा घेराका कारण आइतबार खाली गराइएका ८५ घरका बासिन्दालाई भने अहिले घर फर्कन अनुमति दिइएको छ। सैन्य अड्डा आसपास लगाइएको सुरक्षा घेरा बुधबार पूर्ण रूपमा हटाइने अपेक्षा गरिएको छ।
पक्राउ परेका पाँचै जना बेलायती नागरिक रहेको प्रहरीले जनाएको छ। उनीहरूको उमेर २३ देखि २५ वर्षसम्म रहेको छ। तीमध्ये चार जना वेस्टमिन्स्टर र एक जना क्याम्डेनका बासिन्दा हुन्। उनीहरूको घरमा गरिएको खानतलासी पनि पूरा भइसकेको छ। प्रहरीका अनुसार जमानतमा रिहा गरिए पनि उनीहरूको आवतजावत र अन्य व्यक्तिसँगको सम्पर्कमा कडा सर्त लगाइएको छ। यस घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा समेत चासो बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच जनालाई जमानतमा रिहा गरिएको घटनाप्रति आफू निराश भएको बताएका छन्।
प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। विदेशी राज्यको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गरिरहेका व्यक्ति वा समूहको संलग्नता थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ। प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार आपत्कालीन सुरक्षा बैठकको अध्यक्षता गर्दै अधिकारीहरूले घटनाको पूर्ण तथ्य सार्वजनिक नगरेसम्म कुनै पनि प्रकारको अनुमान नगर्न आग्रह गरेका थिए। यसअघि जुलाईमा इरानले आफ्नो भूभागविरुद्ध आक्रमणका लागि प्रयोग हुने कुनै पनि सैन्य अड्डालाई आफ्ना सेनाका लागि वैध लक्ष्य मानिने बताएको थियो। यद्यपि बेलायतस्थित इरानी दूतावासले पछिल्लो घटनालाई इरानसँग जोडेर गरिएका अनुमानलाई आधारहीन र दुर्भावनापूर्ण भन्दै कडा रूपमा अस्वीकार गरेको छ।