काठमाडौं ।डकैती, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका–५ झिझा टोलका ४० वर्षीय बद्री भनिने अजय पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति उनलाई सिरहा नगरपालिका–६ स्थित कमला खोलाको आसपासबाट नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार पासवान २०८२ मंसिर २ गते कल्याणपुर नगरपालिका–१२ बेल्हा टोलमा मुकेशकुमार सिंहको घरमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा खोजीमा थिए। डकैतीका क्रममा १२ जनाको समूहले वीरेन्द्र महतो र अनिलकुमार महतोलाई गोली प्रहार गरी घाइते बनाएको प्रहरीको दाबी छ।
उक्त समूहले घरबाट नगद तथा विभिन्न सामान गरी ९ लाख ७३ हजार ६५० रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएको प्रहरीको भनाइ छ।घटनाबारे अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालयले सिरहा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा पासवान फरार रहेका थिए।प्रहरीले पासवानलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सिरहामा उपस्थित गराएको जनाएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।