काठमाडौं । मनाङको नासों गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो खसेपछि सम्पर्कविहीन भएका १४ जनाको खोजी कार्य जारी रहेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सोमबार बिहानैदेखि हेलिकप्टरमार्फत तीन जनाको टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ। हिमपहिरोमा परेर सुरुमा २७ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना आफैँ हिँडेर फुँ गाउँ पुगेपछि सम्पर्कमा आएका छन्। घटनामा दुई जनाको शवसमेत फेला परिसकेको छ भने अझै १४ जना सम्पर्कविहीन छन्।
फेला परेका शवलाई काठमाडौं पठाउने तयारी भइरहेको पौडेलले जानकारी दिए। बेपत्ताको खोजीका लागि अनुभवी गाइडहरू समेत परिचालन गरिएको छ। मौसम खुलेका कारण सोमबारको खोजी कार्यमा मौसमजन्य अवरोध कम हुने अपेक्षा गरिएको पौडेलले बताएका छन्। नासों गाउँपालिका–५ मा पर्ने करिब ७ हजार १२६ मिटर उचाइको हिम्लुङ हिमालमा आइतबार हिमपहिरो खसेको थियो। घटनापछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ।