काठमाडौँ । नेपालमा अहिले मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ।
यही मौसमी प्रणालीका कारण सोमबार देशका विभिन्न भूभागमा आंशिक बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली देखिएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। सोमबार देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही स्थानमा तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।