काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको भनिएको घटनाप्रति जेनजी अभियन्ता मिराज ढुंगानाले आपत्ति जनाएका छन्।
ढुंगानाले विज्ञप्ति जारी गर्दै जेनजीबाट सुरक्षा खतरा रहेको कारण देखाएर जबरालाई नियन्त्रणमा लिनु विधिको शासन र कानुनी प्रक्रियामाथिको प्रश्न भएको बताएका छन्। उनले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पक्राउको प्रक्रियाबारे स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन्। उनले सरकारमाथि ‘जेनजी’ शब्दको राजनीतिक प्रयोग गरेको आरोपसमेत लगाएका छन्। ढुंगानाले ३६ वर्षीय प्रधानमन्त्री र ३९ वर्षीय गृहमन्त्रीलाई लक्षित गर्दै ‘सुरक्षा थ्रेट’ को नाममा गरिएको कारबाहीबारे प्रश्न उठाएका छन्।
ढुंगानाले विज्ञप्तिमा ‘त्यो थ्रेट प्रधानमन्त्री जेनजी हुन् कि गृहमन्त्री जेनजी ?’ भन्दै सरकारको कदममाथि प्रश्न गरेका छन्। उनका अनुसार ‘जेनजी’ नामलाई सत्ता प्राप्तिको चुनावी हतियारका रूपमा प्रयोग गरिएको छ। उनले वर्तमान सरकारलाई वास्तविक जेनजी सरकार नभई ‘सङ्क्रमणकालीन स्वार्थ समूहको सरकार’ का रूपमा चित्रण गरेका छन्। गैरजेनजी व्यक्तिहरूले जेनजी आन्दोलनको नाम राजनीतिक रूपमा प्रयोग गर्दा वास्तविक युवा पुस्ता र आन्दोलनको पहिचानमाथि नै प्रश्न उठ्ने ढुंगानाको दाबी छ।