काठमाडाैँ । लगातारको वर्षापछि खसेको पहिरोले पाल्पामा जनधनको ठूलो क्षति भएको छ। पहिरोमा परी जिल्लामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
माथागढी गाउँपालिका–३ कसेनीस्थित भैसिकट्टामा आइतबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। मृत्यु हुनेमा ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया नातिनी दीना घर्तीमगर र छिमेकी १५ वर्षीया झरना घर्तीमगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनीहरू बिहान करिब साढे ४ बजे घरभित्र सुतिरहेको अवस्थामा पहिरोमा पुरिएका थिए। सुरक्षाकर्मी र स्थानीयको प्रयासमा खोजी तथा उद्धार गरिएको थियो। करिब ११ बजे तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पाल्पा अस्पताल लगिएको छ।
यसैगरी, माथागढी गाउँपालिका–२ रुप्सेमा पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको पनि मृत्यु भएको छ। शनिबार राति करिब साढे २ बजे माथिबाट खसेको पहिरोले घर पुरेपछि गम्भीर घाइते भएका चिदीलाई उपचारका लागि पाल्पा अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यसअघि शुक्रबार रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा पहिरोले घर पुरिँदा ५९ वर्षीया कृष्णकुमारी सारूको मृत्यु भएको थियो। उनको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण पाल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। जिल्लामा भएको थप जनधनको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।