काठमाडौं ।चितवनको इच्छाकामना गाउँपालिका–४ मा रहेको मनकामना केबलकारको प्रवेशद्वारभित्रको सडक भासिएको छ।
आइतबार निरन्तरको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक भासिएको हो। नदीको तीव्र बहावले गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुल आसपासमा निरन्तर कटान गरेपछि केबलकारको गेटभित्रतर्फको सडकमा क्षति पुगेको जनाइएको छ।इच्छाकामना–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षाका कारण नदीले आफ्नो धार परिवर्तन गर्दा मुख्य राजमार्गमा समेत चिरा परेको छ। झोलुङ्गे पुलमा नदीको दबाब निरन्तर बढिरहेकाले आसपासको क्षेत्र थप जोखिममा परेको उनले बताए।सडकमा क्षति पुगेपछि मनकामना केबलकारको सेवा तत्कालका लागि बन्द गरिएको छ। नदीको बहाव अझै तीव्र रहेकाले थप क्षतिको जोखिम कायम रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।