काठमाडौं । देशभर अहिले विभिन्न मौसमी प्रणालीको प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थान आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। साथै मनसुनी वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको छ। हाल देशका अधिकांश भूभागमा मौसम बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
यसैगरी, सुदूरपश्चिमका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ। वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडक, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। आज राति पनि सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।