काठमाडौं । प्रहरीले एक अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले धरान उपमहानगरपालिका–५ खैरेनीबाट ज्योति शाहीलाई पक्राउ गरेको हो। उनी धरान–१३ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा शाहीले अन्य व्यक्तिसँग मिलेर इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा ‘शाही मनी ट्रान्सफर’ दर्ता गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा ५२ वटा खाता सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती खातामार्फत १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाबारे थप अनुसन्धानका लागि मंगलबार सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि उनलाई बिहीबार दिउँसो ४ः४५ बजे पक्राउ गरिएको सीआईबीले जनाएको छ।