काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित मुलुकहरूले साझा चुनौती सामना गर्न आपसी सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।
उनले विशेषगरी हिमाली राष्ट्र र साना टापु विकासशील मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेकोमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका मन्त्री खनालले बुधबार जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (सीभीएफ)को नेताहरूको बैठकलाई सम्बोधन गर्दै जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक रहेको बताएका हुन्।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिने, हिमताल विस्फोटबाट बाढी आउने तथा साना टापु राष्ट्रमा शक्तिशाली आँधी आउनेजस्ता विपद् बढिरहेको उल्लेख गरे। फरक भौगोलिक अवस्थाका बाबजुद यी मुलुकले जलवायुजन्य जोखिमको समान असर भोगिरहेको उनको भनाइ थियो। मन्त्री खनालले नेपालमा हालैको भोटेकोशी बाढीले सडक, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल तथा स्थानीय समुदायको जीविकोपार्जनमा पुर्याएको क्षतिको उदाहरण प्रस्तुत गरे। यस्ता घटनाले जलवायु परिवर्तनले दिगो विकासका लक्ष्य हासिल गर्न थप चुनौती सिर्जना गरिरहेको उनले बताए।
उनले जलवायुजन्य जोखिम सामना गर्न उत्थानशील पूर्वाधार निर्माण, विकास वित्त प्रणालीमा सुधार, पूर्वसूचना प्रणालीमा लगानी तथा हरित र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। त्यस्तै, जलवायु परिवर्तनबाट हुने हानि तथा क्षतिका लागि उपलब्ध गराइने वित्तीय सहयोगलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए। जलवायु जोखिममा रहेका राष्ट्रहरूले साझा रूपमा आवाज उठाउँदै आपसी सहकार्य बढाउन सके सुरक्षित र दिगो भविष्य निर्माणमा सहयोग पुग्ने बताउँदै मन्त्री खनालले यसका लागि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।