काठमाडौं । नेपालमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा बदली रहेको छ भने विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। ती प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, मधेस प्रदेश तथा कोशी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा मौसम मुख्यतः बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बदली रहने अनुमान छ। यी प्रदेशका हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना उच्च रहेको छ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बदली रहनेछ। ती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ भने तराईका अधिकांश स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। कोशी तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको छ। यसैबीच, बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अहिले पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।