काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा पछिल्लो २४ घण्टामा १ सय २१ जना पक्राउ परेका छन्।
काठमाडौंका विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न तथा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार सार्वजनिक कार्यालय, स्थल तथा यातायातमा सेवाग्राहीलाई दुर्व्यवहार गर्ने, हातपात तथा हुलहुज्जत गर्ने, चोरी–लुटपाट, बिचौलियागिरी र गुण्डागर्दीजस्ता गतिविधिमा संलग्न व्यक्तिसमेत पक्राउ परेका छन्।असोज ६ गतेदेखि ७ गते बिहान ६ बजेसम्म अदालतको फैसला कार्यान्वयनका क्रममा १९ जना पक्राउ परेका छन्। उनीहरूबाट ३८ लाख ९१ हजार ५ सय ७५ रुपैयाँ जरिवाना तथा ३ वर्ष ६ महिना २ दिन कैद असुलउपर गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ।
यस्तै, चालु मुद्दाका फरार प्रतिवादी ४ जना र फरार कैदीबन्दी तथा थुनुवातर्फ १ जना पक्राउ परेका छन्।पक्राउ परेकामध्ये १०५ जना पुरुष, १५ जना महिला र १ जना अन्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीले आफ्नो टोल–छिमेकमा आपराधिक गतिविधिमा संलग्न वा विभिन्न मुद्दामा फरार व्यक्ति लुकेर बसेको जानकारी भए प्रहरीको निःशुल्क हटलाइन १ सय मा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।