काठमाडौं ।झापा, ललितपुर र कैलालीका विभिन्न स्थानमा मंगलबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।
फरक–फरक स्थानमा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।झापाको गौरीगञ्ज गाउँपालिका–१ र गौरादह नगरपालिका–९ को सीमाक्षेत्रमा पर्ने कमला खोलामा करिब ३५ वर्षका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन।ललितपुरको जावलाखेल चोकमा पनि करिब ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनको समेत नाम, ठेगाना र अन्य परिचय खुल्न सकेको छैन।
ललितपुरकै बागमती गाउँपालिका–१ टिकाभैरव घुसेलस्थित बागमती खोलाको किनारमा सर्लाही लालबन्दी–१४ का ८२ वर्षीय बखत सिंह लो तामाङ मृत फेला परेका छन्।यता कैलालीको लम्कीचुहा नगरपालिका–४ गिधिनियाको सडकमा स्थानीय ४२ वर्षीय अबिराम जैशी मृत अवस्थामा भेटिएका छन्। त्यस्तै चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा सोही वडाको तुलिखेत जंगलस्थित भिरमा मृत फेला परेको प्रहरीले जनाएको छ।पाँचै घटनाको कारणबारे यकिन भइसकेको छैन। प्रहरीले शवको अवस्था र घटनास्थलको विवरणका आधारमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।