काठमाडौँ । वीरगन्जमा प्रहरीले ब्राउन सुगर र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषधको खरिद–बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले मंगलबार राति चेकजाँच गरेको थियो। वीरगन्ज महानगरपालिका–१५ स्थित चालीस फिट्टे सडकखण्डमा बीआर०५ बीएल १६८० नम्बरको अपाचे मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्दा पाइन्टको खल्तीमा लुकाएर राखिएको १५४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, पक्राउ परेका पटेलको घरमा खानतलासी गर्दा ११ ग्राम ५९ मिलिग्राम अफिमसमेत बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको पर्सा प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।