काठमाडौं ।पाँचथरमा धारिलो हतियार, इन्सास राइफलको गोली र बारुदजस्तो पदार्थसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका–१, यासोक बजारमा धारिलो हतियार देखाएर धम्की दिइरहेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो।खोजीका क्रममा फिदिम नगरपालिका–६, सिवाका ३२ वर्षीय सुजन तुम्रोकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले उनको शरीर खानतलासी गर्दा दापसहितका दुई थान खुकुरी, इन्सास राइफलको एक राउण्ड लाइभ गोली तथा बारुदजस्तो देखिने २७.७७ ग्राम पदार्थ फेला पारेको जनाएको छ।बरामद सामग्रीसहित उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्ला अदालत पाँचथरबाट खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।