काठमाडौं ।आयुर्वेद चिकित्सा परिषद् नेपालले अनुमति तथा दर्ता नभएका औषधिको बिक्री–वितरण नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
साथै विभिन्न रोग निको पार्ने भन्दै भ्रामक दाबी गरेर औषधिको प्रचारप्रसार नगर्न पनि परिषद्ले सचेत गराएको छ।परिषद्ले सार्वजनिक गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत जटिल रोग पूर्ण रूपमा निको पार्ने दाबी गर्दै औषधिको विज्ञापन गर्ने प्रवृत्तिप्रति ध्यानाकर्षण गराइएको छ। उपचारबाट शतप्रतिशत निको हुने वा उपचार प्रभावकारी नभए रकम फिर्ता गर्ने जस्ता दाबीसमेत नगर्न परिषद्ले भनेको छ।
यस्ता प्रचारप्रसारले सर्वसाधारणलाई गलत सूचना दिएर भ्रममा पार्न सक्ने भन्दै परिषद्ले कानुनविपरीत सञ्चालन भइरहेका गतिविधि तत्काल रोक्न आग्रह गरेको हो।परिषद्का अनुसार त्यस्ता गतिविधि सञ्चालन वा गरिरहेको पाइएमा सूचना जारी भएको मितिले १५ दिनभित्र बन्द गर्न वा गराउनुपर्नेछ।निर्देशनको बेवास्ता गर्दै गैरकानुनी तथा अवाञ्छनीय गतिविधि जारी राखेको पाइएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने परिषद्ले स्पष्ट पारेको छ।