काठमाडाैँ । तेह्रथुम जिल्ला अस्पतालमा सिजेरियनमार्फत प्रसूति गराउने सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने बाध्यता भएको छ।
आवश्यक चिकित्सकीय जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि जिल्ला अस्पतालको सिजेरियन सेवा रोकिएको हो। सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवतीलाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा लैजानुपर्ने अवस्था आएको छ। तेह्रथुमबाट ती अस्पतालसम्म सडकमार्गबाट पुग्न सामान्यतया पाँचदेखि छ घण्टासम्म लाग्ने गर्छ। प्रसूति जस्तो संवेदनशील अवस्थामा लामो दूरीको यात्रा गर्नुपर्दा गर्भवती महिला र उनका परिवार थप जोखिम र तनावमा पर्ने गरेका छन्। जिल्लामै उपचार हुने अपेक्षासहित अस्पताल पुगेका महिलालाई सिजेरियन आवश्यक परेपछि फेरि अर्को अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ। यसले उपचार खर्च बढाउनुका साथै समयमै आवश्यक उपचार पाउने विषयमा समेत परिवारलाई चिन्तित बनाएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने गर्भवतीका लागि यो समस्या झनै जटिल बनेको छ।
महिला मानव अधिकारकर्मी टंकमाया लिम्बूले सिजेरियन सेवा बन्द हुँदा महिलाहरूले विभिन्न समस्या भोग्नुपरेको बताइन्। उनका अनुसार प्रसूतिको समयमा आकस्मिक शल्यक्रिया आवश्यक पर्न सक्ने भएकाले जिल्लामै यस्तो अत्यावश्यक सेवा उपलब्ध हुनु आवश्यक छ। जिल्ला अस्पतालका अनुसार सिजेरियन सेवा बन्द हुनुको मुख्य कारण चिकित्सकीय जनशक्तिको अभाव हो। विगत करिब १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा अस्पतालमा सिजेरियन सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। उक्त संस्थाले एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी ६ जना जनशक्ति उपलब्ध गराउँदै आएको थियो। परियोजना सकिएपछि ती जनशक्ति उपलब्ध हुन छाडेपछि सिजेरियन सेवा सञ्चालन गर्न समस्या भएको अस्पताल प्रशासनले जनाएको छ। लामो समयदेखि जिल्लामै उपलब्ध रहेको अत्यावश्यक सेवा परियोजना समाप्तिसँगै बन्द भएपछि स्थानीयमा समेत असन्तुष्टि देखिएको छ। स्थानीय तेज आपागाईले जिल्लामा अस्पताल हुँदाहुँदै पनि शल्यक्रियाका लागि बाहिर जानुपर्ने अवस्था दुःखद भएको बताए।
उनले जिल्लामै सिजेरियन सेवा पुनः सञ्चालन गर्न तत्काल पहल गर्नुपर्नेमा जोड दिए। जिल्ला अस्पतालमा सामान्य अवस्थामा मासिक ३० देखि ३५ जनासम्मले प्रसूति सेवा लिने गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४४ जनाको सिजेरियनमार्फत प्रसूति गराइएको अस्पतालको तथ्यांक छ। यसले जिल्लामा सिजेरियन सेवाको आवश्यकता उल्लेख्य रहेको देखाउँछ। तर सेवा बन्द भएपछि प्रसूति सेवा लिन अस्पताल आउने महिलाको संख्या समेत घट्न थालेको अस्पताल प्रशासनले जनाएको छ। अहिले सामान्य रूपमा प्राकृतिक प्रसूति हुन सक्ने अवस्थाका गर्भवतीलाई मात्र अस्पतालमा सेवा दिइँदै आएको छ। शल्यक्रिया आवश्यक पर्ने देखिएमा उनीहरूलाई अन्य अस्पतालमा पठाउने गरिएको छ। जिल्ला अस्पताल प्रमुख डा. खड्ग लिम्बूका अनुसार सिजेरियन सेवा पुनः सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको छ। तर सेवा कहिलेदेखि नियमित रूपमा सञ्चालन हुन्छ भन्नेबारे अहिलेसम्म निश्चित समयसीमा तय भएको छैन।
तेह्रथुम जिल्ला अस्पतालमा जिल्लाका विभिन्न स्थानीय तहका साथै छिमेकी जिल्ला सङ्खुवासभाको धर्मदेवी, मादीलगायत क्षेत्रबाट समेत महिलाहरू प्रसूति सेवाका लागि आउने गरेका छन्। त्यसैले सिजेरियन सेवा बन्द हुँदा यसको प्रभाव तेह्रथुममा मात्र नभई छिमेकी जिल्लाका ग्रामीण क्षेत्रसम्म परेको छ। प्रसूतिको अवस्था सुरुमा सामान्य देखिए पनि जुनसुकै बेला आकस्मिक शल्यक्रिया आवश्यक पर्न सक्ने चिकित्सकीय अवस्था हुन्छ। यस्तो अवस्थामा पाँचदेखि छ घण्टाको यात्रा गरेर अर्को अस्पताल पुग्नुपर्ने बाध्यता गर्भवतीका लागि थप जोखिमपूर्ण बन्न सक्छ। जिल्लामा सिजेरियन सेवा बन्द रहँदा यही जोखिम अहिले मुख्य चिन्ताको विषय बनेको छ।