काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनका असर्फीको मौज्दात सकिएपछि आज शुक्रबार बिक्री नगर्ने भएको छ। तिहारलाई लक्षित गर्दै बिक्री सुरु गरिएका सुनका असर्फी पहिलो दिनमै सकिएपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो।
राष्ट्र बैंकले बिहीबारदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्न थालेको थियो। बिक्रीको पहिलो दिन कर्मचारीसहित सर्वसाधारणलाई गरी कुल ४ हजार ५०० थान सुनका असर्फी बिक्री भएका थिए। हरेक वर्ष धनतेरसको अवसरमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले यसपटक वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी बिक्रीमा ल्याएको थियो। गत वर्ष भने सुनको अभावका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार प्रक्रियागत जटिलता र अन्य झन्झटका कारण बिक्रीयोग्य असर्फीको संख्या सीमित थियो। बिहीबार नै मौज्दात सकिएकाले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने निर्णय गरिएको हो।बिहीबार एक व्यक्तिलाई एक थान सुनको असर्फी र बढीमा दुई थान चाँदीका मेडालियन बिक्री गरिएको थियो। सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलका छन्। पहिलो दिन सुनको असर्फी प्रतिथान ६५ हजार ४ सय रुपैयाँ र चाँदीको मेडालियन ३ हजार ८ सय रुपैयाँमा बिक्री गरिएको थियो। शुक्रबार भने चाँदीका मेडालियन मात्रै बिक्री हुनेछन्। राष्ट्र बैंकले आजका लागि एक थान मेडालियनको मूल्य ३ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ।