काठमाडौं । पछिल्लो समय युवाहरूमा निदाएका बेला दाँत किट्ने वा जोडले च्याप्ने समस्या बढ्दै गएको केही दन्त चिकित्सकहरूले बताएका छन्। यसलाई चिकित्सकीय भाषामा ब्रक्सिज्म भनिन्छ।
अध्ययनहरूका अनुसार करिब चारमध्ये एक जनामा यस्तो समस्या देखिन सक्छ, तर धेरैलाई आफूले दाँत किटिरहेको थाहा नै नहुने गर्छ। दाँत किट्ने बानी लामो समयसम्म रहँदा दाँत घोटिने, टुक्रिने वा संवेदनशील हुने, बिहान उठ्दा टाउको र अनुहार दुख्ने, बङ्गारा कडा हुने तथा निद्रामा समस्या आउनेजस्ता लक्षण देखिन सक्छन्। दन्त विशेषज्ञ अदिती देसाईका अनुसार अहिले युवाहरूमा यस्तो समस्या बढिरहेको अनुभव चिकित्सकहरूले गरिरहेका छन्। यसको एउटा प्रमुख कारण दैनिक जीवनमा बढ्दो तनाव हुन सक्ने उनी बताउँछिन्। मनोचिकित्सक तथा परामर्शदाता राही पोपटका अनुसार उनका विशेषगरी युवा सेवाग्राहीहरूले तनावपूर्ण समयसँगै दाँत किट्ने समस्या सुरु भएको वा बढेको बताउने गरेका छन्। शरीर तनावमा हुँदा स्नायु प्रणाली सक्रिय हुने र मांसपेशी कसिने क्रममा बङ्गारा पनि अनावश्यक रूपमा च्यापिन सक्ने उनको भनाइ छ।
दाँत किट्ने समस्या भएका व्यक्तिमा दाँत खिइएको, चर्किएको वा संवेदनशील भएको देखिन सक्छ। बिहान उठ्दा टाउको दुख्ने, बङ्गारा दुख्ने वा कान वरिपरि दुखाइ हुने पनि यसको संकेत हुन सक्छ। यसको उपचारमा राति लगाउने दाँतको सुरक्षा कवच, फिजियोथेरापी, तनाव व्यवस्थापन तथा आवश्यक परे मनोपरामर्श प्रयोग गरिन्छ। केही अवस्थामा बङ्गाराको मांसपेशीमा औषधीय सुई लगाउने उपचार पनि गरिन्छ। तर विशेषज्ञहरूका अनुसार केवल लक्षण नियन्त्रण गर्नु पर्याप्त हुँदैन। निद्रामा सास रोकिने समस्या लगायत दाँत किट्नुको वास्तविक कारण पनि पहिचान गर्न आवश्यक हुन्छ। रोचक कुरा के छ भने दाँत किट्ने प्रक्रिया सधैँ हानिकारक मात्र भने होइन। केही विशेषज्ञका अनुसार बङ्गाराको गतिविधिले थुक उत्पादनमा सहयोग गर्छ, जसले मुख सफा राख्न, दाँत जोगाउन र पाचन प्रक्रियामा समेत भूमिका खेल्छ। तर अत्यधिक दाँत किट्ने बानीले दीर्घकालीन दुखाइ र दाँतमा गम्भीर क्षति पुर्याउन सक्ने भएकाले समयमै ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्।