काठमाडौं । विश्वभर हुने कुल मृत्युमध्ये करिब ७५ प्रतिशत मानिसको मृत्यु मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने दीर्घरोगका कारण हुने गरेको पाइएको छ।
स्वास्थ्य सेवा विभागले ‘विश्व बिरामी सुरक्षा दिवस २०२६’ का अवसरमा सार्वजनिक गरेको तथ्यांकले नसर्ने रोग विश्वमै मृत्युको प्रमुख कारण बनेको देखाएको हो।नेपालमा पनि नसर्ने रोगको अवस्था चिन्ताजनक रहेको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगका कारण हुने गरेको छ।
त्यस्तै, ७० वर्ष उमेर नपुग्दै हुने अर्थात् अल्पायुमै हुने मृत्युमध्ये ८२ प्रतिशत घटना न्यून तथा मध्यम आय भएका विकासोन्मुख मुलुकमा हुने गरेको तथ्यांकमा उल्लेख छ।बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, अनियन्त्रित सहरीकरण र वायु प्रदूषणका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको विभागले जनाएको छ। सुर्तीजन्य पदार्थ र मदिराको अत्यधिक सेवनले पनि यस्ता रोगको जोखिम थप बढाइरहेको छ।
यस वर्षको विश्व बिरामी सुरक्षा दिवस ‘सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार’ भन्ने नारासहित मनाइएको छ। दिवसले उपचारका क्रममा हुन सक्ने त्रुटि कम गर्दै बिरामीलाई सुरक्षित र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने विषयमा जोड दिएको छ।स्वास्थ्य सेवा विभागले बिरामी सुरक्षालाई अस्पतालभित्रको उपचारमा मात्र सीमित नगरी समुदाय तहसम्म गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ। विशेषगरी दीर्घरोग भएका बिरामीलाई नियमित उपचार र औषधिको पहुँच निरन्तर सुनिश्चित गर्नुपर्नेमा विभागको जोड छ।
यसैबीच, प्राकृतिक विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुँदा दीर्घरोगीहरू थप जोखिममा पर्न सक्ने विभागले जनाएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटलगायत जिल्लाका स्वास्थ्य पूर्वाधार तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका छन्।विपद्का समयमा पनि दीर्घरोगीले नियमित औषधि र उपचारबाट वञ्चित हुन नपरोस् भनेर प्रभावकारी विपद् व्यवस्थापन आवश्यक रहेको विभागको भनाइ छ। स्वास्थ्य संस्थालाई आपत्कालीन अवस्थामा समेत सेवा दिन सक्षम बनाउनु र अत्यावश्यक तथा जीवनरक्षक औषधिको आपूर्ति नियमित राख्नु महत्वपूर्ण हुने विभागले जनाएको छ।उपचारात्मक सेवा महाशाखाले सुरक्षित र निरन्तर स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै बिरामी सुरक्षा सुनिश्चित गर्न स्वास्थ्यकर्मी, समुदाय र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको जनाएको छ।