काठमाडौं । जापानमा मस्तिष्कघात (स्ट्रोक) भएपछि विगत ६ महिनादेखि अस्पतालमा उपचाररत नेपाली युवती विष्णु कुँवरलाई स्वदेश फर्काएर निःशुल्क उपचार गराउने जिम्मेवारी काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्माले लिएका छन्।
रोजगारीका लागि जापान पुगेकी विष्णुलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो। लामो समयदेखि उपचाररत रहेकी उनी आर्थिक अभावका कारण नेपाल फर्कनसमेत असमर्थ थिइन्। उपचार र स्वदेश फिर्तीका लागि आवश्यक खर्च जुटाउन नसक्दा उनको अवस्था थप कष्टकर बनेको थियो। जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले विष्णुको अवस्थाबारे जानकारी गराएका थिए। उक्त जानकारी पाएलगत्तै शर्माले विष्णुलाई नेपाल ल्याएर केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाउने घोषणा गरेका हुन्।
डा. शर्माले विष्णुलाई जापानबाट नेपाल ल्याउने प्रक्रियादेखि अस्पतालमा उपचार गराएर डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल फर्कने प्रक्रियामा आर्थिक समस्या देखिए नेपाल वायुसेवा निगमको हवाई टिकटसमेत आफूले उपलब्ध गराउने उनले बताएका छन्। ‘चिकित्सा विज्ञानले सम्भव भएसम्मका सम्पूर्ण उपचार काठमाडौं मेडिकल कलेजमा निःशुल्क गरिदिने व्यवस्था म मिलाउँछु। उहाँलाई जापानबाट यहाँसम्म पठाइदिने व्यवस्था मिलाउनुहोस्। नेपाल आइपुगेपछि उपचारको सम्पूर्ण जिम्मेवारी हाम्रो भयो,’ डा. शर्माले भनेका छन्।
उनले विष्णुको उपचारका लागि केएमसीमा दक्ष चिकित्सक र आवश्यक स्वास्थ्य पूर्वाधार उपलब्ध रहेको जानकारी दिँदै न्युरो इन्टरभेन्सन सेवामा अस्पतालले हासिल गरेको अनुभवसमेत उल्लेख गरेका छन्। उनका अनुसार उक्त सेवाका लागि केएमसीमा एक दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकको टोली कार्यरत छ। विष्णु नेपाल आइपुग्ने समयमा आफू काठमाडौंमा भए विमानस्थलमै पुगेर स्वागत गर्ने र अन्यथा चिकित्सकको टोली पठाएर अस्पतालसम्म ल्याउने व्यवस्था मिलाउने पनि शर्माले बताएका छन्। विमानस्थलबाट अस्पताल पुर्याउनेदेखि उपचार पूरा गरी डिस्चार्ज हुँदासम्म परिवारलाई कुनै आर्थिक भार नपर्ने उनको प्रतिबद्धता छ। अस्पताल सञ्चालनको उद्देश्य आर्थिक कारोबारमा मात्र सीमित नरहेको उल्लेख गर्दै डा. शर्माले मानवीय सेवालाई पनि प्राथमिकतामा राखेको बताएका छन्। डा. शर्माको घोषणासँगै आर्थिक अभावका कारण जापानबाट स्वदेश फर्कन नसकेकी विष्णुका लागि नेपाल आएर उपचार गराउने अवसर खुलेको छ। उनले विष्णुलाई सकेसम्म छिटो नेपाल पठाउन आग्रह गर्दै उपचारको सम्पूर्ण जिम्मेवारी आफूहरूले लिने बताएका छन्।