काठमाडौं । स्वास्थ्यमा थप जटिलता देखिएपछि प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।
उनको उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजाने व्यवस्था मिलाइएको हो। इलाम अस्पतालमा उपचाररत डा. केसीलाई लिन सोमबार काठमाडौंँबाट हेलिकप्टर उडिसकेको छ। उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको इलाम अस्पतालका चिकित्सक डा. महेश आचार्यले जानकारी दिएका छन्।
टाइप–२ मधुमेहबाट पीडित डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको चिकित्सकले बताएका छन्। स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएपछि थप विशेष उपचार आवश्यक रहेको उनीहरूको भनाइ छ।
विभिन्न माग अघि सार्दै डा. केसीले गत बिहीबार साँझदेखि इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि स्थानीय अस्पतालमा भइरहेको उपचारलाई निरन्तरता दिन कठिनाइ भएपछि उनलाई काठमाडौं ल्याएर थप उपचार गर्ने तयारी गरिएको हो।