काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
२५ वर्षीय लामाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको अवस्थामा सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो। घटनापछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि लामाको शरीरमा गम्भीर चोट लागेको थियो।
घटनाभन्दा केही मिनेटअघि चालक लामाको ट्राफिक प्रहरीसँग विवाद भएको प्रारम्भिक विवरणमा उल्लेख छ। उक्त घटनाको पृष्ठभूमि र आगजनीको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा पछिल्लो समय कोटेश्वरमा बस्दै आएका थिए। उनी करिब ६–७ वर्षदेखि सवारी चालकका रूपमा काम गर्दै आएका थिए। यसअघि उनले ट्याक्सी र चन्द्रागिरि यातायातमा समेत सवारी चलाएका थिए भने पछिल्लो ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा कार्यरत थिए।