काठमाडौं ।रौतहट हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजान खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र स्थानीय प्रहरीको संयुक्त टोलीले २३ वर्षीय सलाउद्दीन अन्सारीलाई नियन्त्रणमा लिएको हो। परिवारलाई जानकारी नदिई मकवानपुरका तीन किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा वीरगञ्ज–रक्सौल तथा गौर नाकामा सुरक्षा निगरानी कडा भएकाले वैकल्पिक ग्रामीण बाटो प्रयोग गरिएको खुलेको प्रहरीले जनाएको छ। किशोरीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत लैजान खोजिएको हुनसक्ने आशंका पनि गरिएको छ।उद्धार गरिएका किशोरीहरू मकवानपुरको राईगाउँ क्षेत्रका रहेका छन्। उनीहरू १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेको प्रहरीले जनाएको छ।
अन्सारीको साथबाट एउटा विद्युतीय स्कुटर, पाँच थान मोबाइल फोन, आधार कार्ड, प्यान कार्ड तथा नेपाली र भारतीय रुपैयाँसमेत बरामद भएको जनाइएको छ। उनी पूर्वी चम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ।मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातका अनुसार अदालतबाट आवश्यक प्रक्रिया पूरा भएपछि उद्धार गरिएका किशोरीलाई नेपाल प्रहरीको समन्वयमा अभिभावकको जिम्मा लगाइनेछ। पक्राउ परेका अन्सारीविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताएका छन्।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले पनि घटनाबारे पुष्टि गर्दै भारतीय प्रहरीसँग समन्वय भइरहेको जानकारी दिएका छन्। भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय गौरमार्फत परिवारको जिम्मा लगाइने उनले बताए।